गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौँथली’ ले दिनप्रतिदिन आफ्नो व्यापारिक गति बलियो बनाउँदै लगेको छ। प्रदर्शनको छैटौँ दिनसम्म आइपुग्दा देशभरका धेरैजसो हलमा चलचित्रका शोहरू हाउसफुल हुन थालेका छन्।

बुधबार बिहानैदेखि अधिकांश मल्टिप्लेक्समा चलचित्रका शो राताम्मे देखिएका छन् भने केही शो ‘फिलिङ फास्ट’को अवस्थामा पुगेका छन्। विशेषगरी दिउँसो र साँझका शोका ८० देखि ९० प्रतिशतसम्म टिकट बिहानै अनलाइनमार्फत बिक्री भइसकेका छन्। यस्तो अवस्थामा शो सुरु हुने समयमा हल पुग्ने दर्शकले टिकट नपाउने सम्भावना बढेको छ।

चलचित्रका निर्देशक डा. कपिल रिजालले दर्शकलाई समयमै अग्रिम टिकट बुक गर्न आग्रह गरेका छन्। उनका अनुसार अधिकांश शो बिहानै भरिने भएकाले हलमै गएर टिकट लिने योजना बनाउनेहरूले निराश हुनुपर्ने अवस्था आउन सक्छ।

सकारात्मक वर्ड अफ माउथ र दर्शकबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले चलचित्रको व्यापारमा निरन्तर वृद्धि भएको निर्माण पक्षको विश्वास छ। यही कारण चलचित्रका शोहरू दिनप्रतिदिन थप भरिन थालेका छन्।

‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको कथालाई केन्द्रमा राखिएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरिरहेका छन्।