अभिनेत्री प्रियंका कार्कीले निर्माण तथा अभिनय गरेको चलचित्र ‘मास्टरनी’ को प्रचारका लागि सार्वजनिक गरिएको नयाँ गीतले दर्शकमाझ मिश्रित प्रतिक्रिया पाएको छ। रिलिज भएको छोटो समयमै गीत सामाजिक सञ्जालमा भाइरल बने पनि यसको गायन शैली र नृत्य प्रस्तुतिलाई लिएर आलोचना बढ्दो छ।

दुर्गेश थापाले तयार पारेको उक्त गीतमा उनले स्वयं शब्द लेखेका छन् भने स्वरमा उनलाई बबिना किरातीले साथ दिएकी छन्। भिडियोमा प्रियंका कार्कीसँगै आयूष्मान जोशी र आर्यन सिग्देलको पनि अभिनय देख्न सकिन्छ।

गीत सार्वजनिक भएपछि टिकटकलगायत विभिन्न प्लेटफर्ममा यसको समीक्षा र आलोचना गर्ने भिडियोहरू व्यापक रूपमा पोस्ट भइरहेका छन्। धेरै दर्शकले गीतका केही शब्द जानाजानी अस्पष्ट वा फरक अर्थ लाग्ने गरी उच्चारण गरिएको टिप्पणी गरेका छन्। विशेषगरी ‘म्याथ सिक्ने भए, सबलाई जित्ने भए…’ भन्ने लाइनको गायनलाई लिएर प्रश्न उठाइएको छ।

यस्तै, चलचित्रमा शिक्षिकाको भूमिकामा रहेकी प्रियंका कार्कीको नृत्य प्रस्तुतिलाई पनि धेरैले मर्यादित पात्रसँग मेल नखाने बताएका छन्। शिक्षिकाजस्तो सम्मानित पात्रलाई उच्छृङ्खल शैलीमा प्रस्तुत गरिएको र दुर्गेश थापासँगका केही नृत्य स्टेप आवश्यकताभन्दा बढी उत्तेजक देखिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

यद्यपि, विवादकै बीच गीतले दर्शकको ध्यान भने तान्न सफल भएको छ। सार्वजनिक भएको दुई दिनमै गीतले ६ लाखभन्दा बढी भ्यूज बटुलेको छ। भ्यूज तीव्र गतिमा बढे पनि टिप्पणीहरूको ठूलो हिस्सा भने आलोचनात्मक देखिन्छ