वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक ‘म मदनकृष्ण’ ले छायांकनअघि नै ठूलो व्यावसायिक सफलता हात पारेको छ। भदौको दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रको डिजिटल प्रदर्शन अधिकार ओएसआर डिजिटलले अहिलेसम्मकै उच्च मूल्यमा खरिद गरेको निर्माण पक्षले जनाएको छ।

भिन्टेज मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गर्दैछन्। मदनकृष्ण श्रेष्ठको ७६ वर्षे जीवनयात्रालाई पर्दामा उतार्ने उद्देश्यसहित घोषणा गरिएको यो परियोजनाले उनको बाल्यकालदेखि सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको अविस्मरणीय सहकार्य, अन्तरजातीय विवाह तथा जीवनका विभिन्न उतारचढावलाई समेट्नेछ।

निर्देशक चाम्सका अनुसार ओएसआर डिजिटलले चलचित्रप्रति देखाएको विश्वास र गरेको लगानी मदनकृष्ण श्रेष्ठको व्यक्तित्व तथा लोकप्रियताको प्रतिफल हो। उनका अनुसार डिजिटल अधिकारको यो सम्झौता नेपाली बायोपिक चलचित्रकै लागि महत्त्वपूर्ण उपलब्धि बनेको छ।

नेपाली चलचित्र उद्योगमा चर्चित व्यक्तित्वमाथि बायोपिक बन्ने क्रम नयाँ नभए पनि, कुनै अभिनेताको जीवनमा केन्द्रित चलचित्र भने पहिलो पटक निर्माण हुन लागेको हो। यसअघि गायक भक्तराज आचार्यको जीवनमा आधारित ‘आचार्य’ निर्माण भएको थियो। त्यसैले ‘म मदनकृष्ण’लाई नेपाली सिनेमाको एउटा विशेष र ऐतिहासिक परियोजनाका रूपमा हेरिएको छ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने उनकी पत्नी यशोदाको चरित्र अभिनेत्री केकी अधिकारीले निभाउनेछिन्। मदनकृष्णसँग अभिन्न रूपमा जोडिएका हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्ने भन्ने विषयलाई भने निर्माण टिमले हालसम्म गोप्य राखेको छ।

यसका साथै चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।

राजकुमार श्रेष्ठ निर्माता रहेको चलचित्रको कथा तथा पटकथा यम थापाले तयार पारेका हुन्। छायांकन निर्देशक पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ), सम्पादक मिलन श्रेष्ठ, ब्याकग्राउन्ड म्युजिकमा अलिश कार्की तथा साउन्ड डिजाइनमा भरत कँडेल रहेका छन्।

भदौ दोस्रो सातादेखि छायांकन सुरु गर्ने तयारीमा रहेको ‘म मदनकृष्ण’ लाई रिलिजपछि रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले संयुक्त रूपमा वितरण गर्नेछन्।