अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापाबीचको आत्मीय सम्बन्ध अब फिल्मी सहकार्यमा पनि देखिएको छ। चर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’ पछि उनीहरूबीचको मित्रता अझ प्रगाढ बनेको छ, जसको उदाहरण बनेको छ फिल्म ‘मास्टर्नी’ को नयाँ गीत।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीत दुर्गेश थापाले विशेष रूपमा प्रियंकालाई उपहार दिएका हुन्। प्रियंकाले निर्माण गरेको पहिलो फिचर फिल्म ‘मास्टर्नी’ को प्रचारका लागि दुर्गेशले कुनै पारिश्रमिक नलिई गीत तयार पारेका हुन्।
गीतमा दुर्गेशकै शब्द, संगीत र स्वर रहेको छ भने गायनमा बबिना किरातीले साथ दिएकी छन्। सार्वजनिक म्युजिक भिडियोमा दुर्गेशसँगै प्रियंका कार्की, आयुष्मान देशराज जोशी र आर्यन सिग्देलको अभिनय देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रियंकाले दुर्गेशप्रति आभार व्यक्त गर्दै अडियोदेखि भिडियोसम्म सम्पूर्ण काम उनले आफ्नै खर्चमा तयार गरेको बताइन्। उनले भनिन्, “यो गीत उहाँले मलाई कोसेलीका रूपमा दिनुभएको हो। कुनै आर्थिक लेनदेन भएको छैन। फिल्मको देशव्यापी प्रचार अभियानमा पनि उहाँ निःशुल्क सहभागी हुँदै हुनुहुन्छ। यो मेरो लागि निकै ठूलो सहयोग हो।”
आगामी भदौ ५ गते रिलिज हुने फिल्म ‘मास्टर्नी’ मा प्रियंका कार्कीसँगै सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, सिम्रन खड्का र अनुप विक्रम शाहीलगायत कलाकारको अभिनय रहेको छ। शुभेन्द्र घोष निर्देशित यस फिल्मका निर्माता प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की हुन्।

