अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ।
सोमबार जारी गरिएको अस्पतालको विज्ञप्तिअनुसार, शल्यक्रियापछि उनको स्वास्थ्यमा कुनै जटिलता नदेखिएको छ। चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा केही दिन अस्पतालमै राखेर आवश्यक उपचार र हेरचाह जारी रहने अस्पतालले जानकारी दिएको छ।
अस्पतालका अनुसार दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक पूर्ण रूपमा निकालिएको छ। अब ट्युमरको प्रकृति सम्बन्धी परीक्षण प्रतिवेदन आएपछि आवश्यक पर्ने थप उपचारबारे परिवारलाई जानकारी गराइने बताइएको छ।
विज्ञप्तिमार्फत अस्पतालले उपचारका लागि स्वदेशकै स्वास्थ्य सेवामाथि विश्वास गरेको भन्दै दीपाश्रीको परिवारप्रति आभार पनि व्यक्त गरेको छ।
उल्लेखनीय छ, असार २३ गते न्यूरोसर्जन वसन्त पन्तको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सक टोलीले दीपाश्रीको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको थियो।

