टेलिभिजन र डिजिटल प्लेटफर्ममा ‘भटभटे माइला’ पात्रमार्फत दर्शकको मन जितेका कमेडियन बेगम नेपाली अब ठूलो पर्दामा मुख्य नायकका रूपमा देखिने भएका छन्। रघुजी फिल्म्सको प्रस्तुति रहने चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा उनी प्रमुख भूमिकामा अनुबन्धित भएका हुन्।
लामो समयदेखि हास्य अभिनयमार्फत लोकप्रियता कमाएका बेगम नेपालीका लागि यो चलचित्र करिअरको महत्वपूर्ण मोड बन्ने अपेक्षा गरिएको छ। सानो पर्दामा स्थापित छवि बोकेका उनी पहिलो पटक मुख्य पात्रका रूपमा दर्शकमाझ आउन लागेका हुन्।
अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने चलचित्रको छायाङ्कन यही साताबाट सुरु गर्ने तयारी गरिएको छ। निर्माणको जिम्मेवारी रघुनाथ सापकोटाले सम्हालिरहेका छन्।
निर्माण पक्षका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको बलियो उपस्थिति रहनेछ। चलचित्रका गीत गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायाङ्कन संकल भुजेलले गर्नेछन्।
यसअघि नै कलाकारको टोलीमा गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त, अभिनेत्री समिया कार्की र कमेडियन प्रभात लामा अनुबन्धित भइसकेका छन्।
पूर्ण रूपमा कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले हास्य, व्यंग्य र पारिवारिक मनोरञ्जनलाई समेटेर दर्शकलाई फरक स्वाद दिने लक्ष्य राखेको निर्देशक अमरदीप सापकोटाले बताएका छन्।

