भारतीय संगीत जगतका चर्चित पार्श्वगायक शान आगामी भदौ ६ गते काठमाडौंमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुने भएका छन्। क्लब नोभामा आयोजना हुने उक्त कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीतहरू प्रत्यक्ष प्रस्तुत गर्नेछन्।

‘नेपाली टच’को आयोजनामा हुन लागेको यस कार्यक्रममार्फत शानले नेपाली दर्शक तथा संगीतप्रेमीसँग भेट गर्नेछन्। बलिउडका दर्जनौं सुपरहिट गीतमा स्वर दिएका शानका नेपालमा पनि ठूलो संख्यामा प्रशंसक छन्।

कार्यक्रममा उनले ‘मुसुमुसु हाँसी देउ’, ‘ओम शान्ति ओम’, ‘बहती हवा सा था वो’ जस्ता चर्चित गीत प्रस्तुत गर्ने तयारी रहेको आयोजकले जनाएको छ।

यससँगै ‘चाँद सिफारिस’, ‘जब से तेरे नैना’, ‘दिवानगी’, ‘सुनो ना’, ‘हे शोना’ र ‘कुछ तो हुआ है’ लगायतका उनका चर्चित गीतले पनि कार्यक्रमलाई अझ आकर्षक बनाउने अपेक्षा गरिएको छ।