हलिउडका प्रतिष्ठित अभिनेता साम निल अब हाम्रो माझ रहेनन्। ७८ वर्षको उमेरमा सोमबार उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

विश्व सिनेमामा उनको नाम विशेषगरी सन् १९९३ मा रिलिज भएको ‘जुरासिक पार्क’ का वैज्ञानिक डा. एलन ग्रान्ट को भूमिकासँग जोडिन्छ। उक्त पात्रले उनलाई विश्वभरका दर्शकमाझ अमिट पहिचान दिलाएको थियो।

परिवारका अनुसार निलको निधन अष्ट्रेलियाको सिड्नीस्थित आफ्नै निवासमा परिवारका सदस्यहरूको उपस्थितिमा अचानक भएको हो।

सन् २०२३ मा उनले आफू रक्त क्यान्सरसँग जुधिरहेको खुलासा गरेका थिए। यद्यपि, यस वर्षको अप्रिलमा उनले उपचार सफल भएको र आफू क्यान्सरमुक्त भएको जानकारी दिएका थिए।

उत्तरी आयरल्यान्डमा जन्मिएका निल बाल्यकालमै परिवारसँग न्यूजिल्यान्ड बसाइँ सरेका थिए। अभिनय यात्रामा उनले फिल्मसँगै टेलिभिजनमा पनि उल्लेखनीय छाप छोडे। चर्चित सिरिज ‘पिकी ब्लाइन्डर्स’ मा उनले बेलफास्टका प्रहरी प्रमुखको भूमिका निर्वाह गरेका थिए।

‘जुरासिक पार्क’पछि उनले सोही श्रृंखलाका अन्य फिल्महरूमा पनि डा. एलन ग्रान्टकै रूपमा पुनः अभिनय गर्दै दर्शकको मन जितेका थिए।

उनको अभिनय यात्रा ‘द पियानो’, ‘द हन्ट फर रेड अक्टोबर’, ‘इभेन्ट होराइजन’ लगायतका चर्चित चलचित्रमार्फत अझ सशक्त बनेको थियो। बहुआयामिक अभिनय क्षमताका कारण साम निललाई हलिउडका सम्मानित र सम्झनलायक अभिनेतामध्ये एक मानिन्छ।